सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको संयुक्त राष्ट्रसंघको निश्कर्ष


काठमाडौं– संयुक्त राष्ट्रसंघले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले विश्वव्यापी रुपमा तापक्रम बढेको जनाएको हो ।

डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको जनाएको छ । गर्मी बढेसँगै यस वर्ष सबैभन्दा गर्मी वर्ष बनेको डब्ल्यूएमओको निष्कर्श रहेको छ ।

मौसम विज्ञान संगठनले गर्मीका कारण जलवायु परिवर्तनसम्बन्धी अन्य चिन्ताजनक निष्कर्षहरु पनि सार्वजनिक गरेको छ । महासागरहरु छिटो तातिरहेका छन् भने हिमनदीहरु पग्लने क्रम पनि बढ्दो अवस्थामा रहेको जनाइएको छ । सन् २०२३ मा विश्वका हिमनदीहरुबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भएयताकै उच्च पुगेको थियो ।

त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ। सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४.७७ मिलिमिटरले बढेको थियो । जुन् १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।

जलवायु वैज्ञानिकहरूले धेरै वर्षदेखि यी विषयहरुमा विभिन्न अनुसन्धानहरु गर्दै आइरहेका छन् । यसको अवस्था थप प्रतिकूल हुँदै गएको चेतावनी समेत दिँदै आइरहेका छन् ।