जाजरकोटका दुर्घटनामा घाइते भएका ११ जनालाई हेलिकप्टरमार्फत ल्याइयो सुर्खेत


काठमाडौं– जाजरकोटमा भएका सवारी दुर्घटनाका घाइतेमध्ये ११ जनालाई हेलिकप्टरमार्फत् सुर्खेत पुर्याइएको छ । सोमबार जाजरकोटमा भएका बोलेर जिप दुर्घटना र फोर्स गाडी दुर्घटनामा घाइते भएका ३९ जनामध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेत पुर्याइएको हो।

सुर्खेत पुर्याइएका घाइतेहरूलाई कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सोमबार दिउँसो जाजरकोटका छुट्टाछुट्टै ठाउँमा फोर्स गाडी र बोलेरो जिप दुर्घटना भएका थिए।

जाजरकोटको नलगाड र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये चार जना भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए।

यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए। बोलेरो जिप दुर्घटनाका सात जना घाइतेमध्ये चार जना डिस्चार्ज भएका हुन्।

बाँकी घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।