तीन जनाको निम्तोमा वन मन्त्रालयबाट ३१ जनाको टोली कोप २९ मा सहभागी हुन पुगेपछि अख्तियारले देखायो चासो


काठमाडौं– यतिबेला संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलसहितको टोली अजरबैजानको बाकुमा गएको छ । उक्त टोलीमा वन मन्त्रालयबाट तीन जना सहभागी हुन निमन्त्रणा आएकोमा नेपालबाट जम्बो टोली बाकु गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा चासो व्यक्त गरेको छ ।

अख्नियारले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना मात्र जानुपर्नेमा जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न गरेको छ । वन तथा वातावरण मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको टोली बाकु गएपछि अख्तियारले यसमा चासो देखाएको हो ।

मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा दीपक कुमार खरेल, प्रशासन महाशाखा प्रमुख भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत टोलीमा छन् ।

अख्तियारले वनमन्त्रालयलाई त्यत्रो ठूलो टोली जानुको आवश्यकता, औचित्य, त्यहाँको कामको जिम्मेवारी के हो भनेर प्रश्न सोधेको छ । कोप २९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति पौडेल ९ सदस्यीय टोलीको नेतृत्व गर्दै गत आइतबार बाकु प्रस्थान गरेका थिए । सम्मेलनमा नेपालको तयारीका लागि भन्दै वनमन्त्री ऐनबहादुर शाही ठकुरीसहित वन सचिव डा दीपककुमार खरालसहित अन्य उच्च कर्मचारी र विज्ञसहितको नेपाली टोली राष्ट्रपति सम्मेलनस्थल बाकुमा जानुअघि नै पुगेका थिए ।

राष्ट्रपति पौडेलले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ ।