काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजिएको दाबी गरेका छन् ।
उनले आफू भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको भएपनि त्यही विषय अहिले आफ्नो टाउकोमा थोपरेर राजनीति जीवन सिध्याउन खोजीएको आरोप लगाएका हुन् ।
आफूलाई सहकारी ठग भनेर आरोप लगाएको भन्दै एक विज्ञप्ती जारी गर्दै उनले उक्त आरोपको खण्डन गरेका छन् । आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने उनले बताएका छन् ।
नेपाल सरकारको कुनैपनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको विज्ञप्तीमार्फत गुरुङले बताएका छन् । उनले भनेका छन्, मजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भनि कपोकल्पित प्रचार गर्नु निन्दनीय छ ।’
उनले आफू शरिरमा एक थोपा रगत रहेसम्म भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध लडिरहने प्रण गरेका छन् । उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गरेका छन् । सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया