भैरहवा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान लिने काम भइरहेको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते पक्राउ परेका उनलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा लगिएको थियो । उनको मंगलबारबाट नै बयान लिने काम सुरु भएपनि नसकिएपछि आज पनि सरकारी वकिलको कार्यालयमा बयान लिईँदैछ ।
मंगलबार प्रारम्भिक बयान लिइएको र आज बयानलाई निरन्तरता दिनका लागि भन्दै आज बिहान १० बजे लामिछानेलाई कडा सुरक्षाका साथ सरकारी वकिलको कार्यालय पुर्याइएको थियो । मंगलबार बयानपछि सरकारी वकिल कार्यालय बाहिर रहेका पत्रकारहरु समक्ष रविले ‘खोरमा राख्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिको निकै चर्चासमेत भइरहेको छ । मंगलबार बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । त्यहाँबाट आज ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटाएर उनलाई बयान कक्षसम्म पुर्याइएको थियो ।
प्रहरीको गाडी भित्र रहेका लामिछानेलाई परिसर भित्रै गाडी राखी भित्री बाटोबाट बयान कक्षसम्म लगिएको थियो । लामिछाने जाने बयान कक्षसम्मको बाटोलाई प्रहरीको जंजिर बनाई घेरिएको थियो ।
बिहानैदेखि रविको बयान चलिरहँदा सरकारी वकिल कार्यालय बाहिर भने रास्वपाका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकको ठूलो जमात देखिएका छन् । सरकारी वकिल कार्यालयभित्र रविको बयान लिइरहँदा नेपालको राष्ट्रिय झण्डा बोकेका समर्थकहरु भने बाहिर विरोध प्रदर्शन गरिरहेका छन् ।
सरकारी वकिलको कार्यालय बाहिर रास्वपा समर्थकको जमात ठूलो भएसँगै सुरक्षा कर्मीहरु पनि बाक्लो मात्रामा खटाइएको छ । सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेधाज्ञा जारी गरिएको छ । निषेध गरिएका क्षेत्रमा छिर्न खोजेपछि रास्वपाका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेलसम्म भएको छ ।
लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रुपन्देही लगिएको हो ।
रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो । सोहि अनुसार अनुसन्धान गर्न लामिछानेलाई रुपन्देही लगिएको हो ।
सुप्रिम सहकारीबाट दुई करोड रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपियाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । रविलाई अनुसन्धानका लागि रुपन्देही लगिएपछि सुप्रिम सहकारीका बचतकर्ताले समेत उनको विरुद्धमा प्रदर्शन गरिरहेका छन्।
प्रतिक्रिया