उपनिर्वाचनमा चार स्थानीय तहका उपाध्यक्षमा महिला मात्र उम्मेदवार बन्न पाउने


काठमाडौं– आसन्न उपनिर्वाचनमा चार गाउँपालिकामा उपाध्यक्ष पदमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका हुन् ।

ती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि पुरुष रहेकाले ती पालिकामा महिलामात्रै उम्मेदवार बन्न पाउने आयोगले नीतिगत निर्णय लिएको छ ।

मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका पालिकामा भने यो व्यवस्था अनिवार्य गरिएको छैन । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ । ती पालिकामा भने प्रमुख वा उपप्रमुख पदमा एक जना महिला भइसकेकाले महिलालाई नै अनिवार्य रुपमा रिक्त पदमा उम्मेदवारी बनाउनुपर्ने बाध्यकारी व्यवस्गा गरिएको छैन ।

स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७ (४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिँदा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमासमेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गर्न खोजेको हो ।