बुटवलमा बयान सक्किएपछि रविलाई पोखरा लगियो


फाइल फोटो

बुटवल– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई कास्की लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साँढे १ बजे उनलाई पोखरा लगिएको हो ।

उनलाई यति एयरको विमानमार्फत पोखरा लगिने प्रहरीले जनाएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि पोखराबाट बुटपल लगिएका उनको हिजो साँझ बयान सकिएको थियो ।

बयान सक्किएसँगै लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

बुटवलमा बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार मौखिक र बुधबार तथा बिहीबार लिखित ७४ प्रश्न सोधेको छ । उनको ३ दिनमा साढे २३ घण्टा बयान लिइएको छ ।

उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन् ।अव उक्त बयानका आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन तयार गर्ने छ। कास्की प्रहरीको हिरासतमा रहेका बेला लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले पूर्वडीआईजी छविलाल जोशीलाई पनि पोखराबाट रुपन्देही पु¥याएर बयानपछि पोखरा लगिएको थियो ।

यस्तै सहकारी ठगी अभियोगमा रविविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

अन्य आरोपितको बयान लिएपछि मात्रै उनीविरुद्ध मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः बयान लिनुपर्ने हुनसक्ने र त्यसका आधारमा मुद्दा चल्ने नचल्ने यकिन हुने सरकारी वकिल कार्यालयले जनाइको छ ।