काठमाडौं– सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व मेयर गंगा पासवान,प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका पाँचै जनाको सजाय आगामी मंसिर १० गतेका लागि तोकिएको छ । २०८० चैत १४ गते अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै मुद्दा दायर गरेको थियो । कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८र७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। तर, उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।
उक्त आदेशको अवज्ञा गर्दै मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । ०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया