काठमाडौं– झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा झाँक्री भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीको उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी नगरकोटीकी श्रीमती सानुमायालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शुक्रबार नै निधन भएको प्रहरी स्रोतले जनाएको छ । सानुमायाको निधनपछि उनको शवको पोष्टमार्टम गर्दा गर्भमा तीन महिनाको भ्रुण रहेको पनि पुष्टि भएको थियो । आमासँगै कोखको शिशुको पनि निधन भएको छ ।
यता झाक्री भूजेल र नगरकोटी परिवारबीच दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्ती दिने कुरामा सहमती भएको छ । क्षतीपूर्ती सोमबार शव उठाउने सहमति भएको हो । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो । पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड क्षतीपूर्ति माग गरेका थिए । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि ५२ लाख क्षतिपूर्ती दिने सहमति भएको थियो ।
भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्धको प्रहरी वृत्त बौद्धले सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाएको छ ।
ऐनको दफा १६१ को उपदफा ३ बमोजिम उनीविरुद्ध मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । त्यसअनुसार उनलाई एक वर्षभन्दा बढी कैद सजाय हुनसक्नेछ ।
प्रतिक्रिया