कामकाजमा ‘कोशी’ नामको प्रयोग गरे कारबाही अघि बढाउने प्रदेश १ पुनः नामांकन संघर्ष समितिको चेतावनी


मोरङ– कोशी मको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ ।

कोशी नाम खारेज गर्न माग गर्दै समितिले १७ फागुनलाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु गर्न माग गरेको छ । माग पूरा नभएमा प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेका छन् । ‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ’, संयुक्त संघर्ष समितिले भनेको छ ।