‘फेक डकुमेन्ट’ देखाउँदै प्रधानमन्त्री ओलीको दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईँ पक्राउ


फाइल फोटो

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रसाईंको फेसबुक पेजबाट हिजो एउटा भिडिओ रिपोर्ट सार्वजनिक भएको थियो । भिडिओ रिपोर्टमा भनिएको छ, ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’

‘हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीसँग कम्बोडियामा यत्रो लगानी गर्ने पैसा कहाँबाट आयो पत्रकार मित्रहरु ? न हाम्रो देशका प्रधानमन्त्री न उद्योगी न व्यापारी । यिनले कहाँबाट बनाए यस्त्रो पैसा?’ भिडियोमा प्रश्न गरिएको छ ।

ओलीले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहँदा कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया पुगेका थिए । सोही बेलामा सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको उनले बताएका हुन् ।

प्रसाईले भिडियोमा भनेका छन्, ‘मैले प्रमाण ल्याउन मेरो तन, मन, धन, समयको लगानी गरेको छु, यो प्रमाण ल्याएको यी भ्रष्टले थाहा पाएपछि राज्यसत्ताको दुरुपयोग गरेर मलाई सिध्याउन खोजिरहेका छन् आम नागरिक चनाखो रहनुहोला ।’

भिडिओमा उक्त प्रमाण भन्दै केही कागजातहरू देखाइएका छन् । जसमा १४ मे २०१९ मितिमा २१ करोड अमेरिकी डलर केपी ओलीले लगानी गरेको भन्दै दुईवटा कागजात देखाइएको छ । तर ती दुईवटा कागजमा खड्ग प्रसाद ओली नामको स्पेलिङ फरक फरक रहेका छन् । यस्तै पेश कागजातमा देखिएको हस्ताक्षर पनि केपी शर्मा ओलीको भन्दा भीन्न रहेको पाइएको छ ।