काठमाडौं– रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका जीवन रोकाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।
‘रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका जगत घर्तीको मात्र उम्मेदवार कायम भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।
उम्मेदवारी फिर्ता लिएका रोकाले माओवादीका उम्मेदवार घर्तीलाई त्यो क्षेत्रको पुरानो, स्थापित नेता र सबैको अभिभावकको रुपमा चित्रण गरेका छन् ।
‘हाम्रो वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक, सामाजिक र नैतिक दृष्टिले पनि उपयुक्त नहुने भएकाले मैले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीलाई समर्थन गरी मेरो राजीखुसीका साथ उम्मेदवारी फिर्ता लिएको छु,’ रोकाले भनेका छन् ।
प्रतिक्रिया