ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।
बुधबार राति १२ बजे पछिदेखि उक्तक्षेत्रमा सामान्य हिमपात सुरु भएको हो । पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात् फाटफुट्ट हिमपात भइरहेको छ ।
पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । हिमपातको मौसम सुरु भएकाले पाथीभरा दर्शन गर्ने भक्तजनलाई आफ्नो स्वास्थ्यलाई समेत दृष्टिगत गर्न अर्थात् चिसो समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे ध्यान दिन आग्रह गर्नुभएको छ ।
पाथीभरा क्षेत्रसँगै जिल्लाको उच्च हिमाली भेगमा सामान्य हिमपात भएको छ । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले, वडा –७ ओलाङ्चुङगोला, याङ्मा बस्तीका माथिल्लो भेगहरुमा हिमपात भएको हो ।
हिमपात भएपछि ताप्लेजुङमा चिसो निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभर तुलनात्मक रुपमा चिसो अनुभूति हुन थालेको त्यहाँका स्थानीयले बताएका छन् ।
प्रतिक्रिया