काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ । जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ ।
पोखराको सूर्योदर्शन सहकारी ठगी प्रकरणमा असोज ६ गते पक्राउ परेका उनलाई मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । उनको बुधबारबाट बयान लिन सुरु गरिएको हो ।
शुक्रबारसम्म बयान सकेर पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग काठमाडौं प्रहरीले बयान लिइसकेको छ । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।
छविलाई पोखरा फिर्ता पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाउने प्रहरीले तयारी गरेको छ ।
६४५ बचतकर्ताले रकम अपचलन भएको जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया