काठमाडौंमा पूर्वडिआईजी जोशीको बयान सकियो, आजै पोखरा पठाइने


काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सक्किएको छ। जिल्ला सरकारी वकिल कार्यालयले उनको बयान लिएको हो ।

पोखराको सूर्योदर्शन सहकारी ठगी प्रकरणमा असोज ६ गते पक्राउ परेका उनलाई मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । उनको बुधबारबाट बयान लिन सुरु गरिएको हो ।

बयान सकिएपछि शुक्रबार नै पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग काठमाडौं प्रहरीले बयान लिइसकेको छ । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।

छविलाई पोखरा फिर्ता पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाउने प्रहरीले तयारी गरेको छ ।

६४५ बचतकर्ताले रकम अपचलन भएको जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।