काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्कीको पोखरा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
गत कात्तिक २५ गते १३ दिनको लागि थपिएको म्याद सकिएकाले आज अदालत उपस्थित गराइएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज पाँचौ पटक अदालत लगिएको हो । उनीविरुद्ध सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान गरिएको छ ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।
यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो । उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया