गाडी पार्किङले गर्दा ललितपुरमा पैदलयात्रुलाई समस्या, पाटन दरबारलगायत क्षेत्रमा अब ‘नो पार्किङ’


ललितपुर– ललितपुर महानगरपालिकाले विभिन्न ठाउँमा गाडी पार्किङ गर्न निषेध गरेको छ । आइतबारदेखि महानगरपालिकाले पैदल यात्रुहरुको चाप हुने क्षेत्रहरुमा सवारी साधन पाकिङलाई निषेध गरेको हो ।

गाडी तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवतजावत सहज बनाउन पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताएका छन् । उनका अनुसार महानगरले मङ्गलबजार, सुन्धारा, ग्वार्को सडक खण्ड, टङ्गाल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि गाडी पार्किङ निषेध गरिएको छ ।

ललितपुर महानगर कार्यपालिकाले सवारीसाधन पार्किङले गर्दा पैदल यात्रुलाई असहज भएको भन्दै पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णयलाई आजदेखि लागु गरिएको नगरप्रहरी प्रमुख हाछेथुले बताएका छन् ।

सवारी पार्किङले गर्दा महानगरपालिका क्षेत्रभित्र रहेको पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्सजस्ता आकस्मिक गाडीलाई समेत आवतजावत गर्न असहज भएको महानगरको ठहर छ ।