हिरासतबाट दिउँसो छुटे, रातिको सिसिटिभि फुटेजमा देखियो महिलाको लाश घिसारेको भिडियो


काठमाडौं– मंसीर ७ गते काठमाडौंको कालिमाटीमा एक महिलाको शव भेटियो । पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीय महिलाको शवमा ट्राउजरसमेत खुल्लै रहेको थियो । जसकारण महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको थियो ।

त्यसपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिसिटिभि फुटेज हेर्न थाल्यो । जसक्रममा प्रहरीले भिडियो फेला पार्यो जहाँ एक युवकले महिलाको लाशलाई घिसारिरहेका थिए ।

सिसिटिभिको समयअनुसार मंसीर ७ को बिहान ३ बजेतिर ती युवकले महिलाको शव फालेका थिए । त्यसपछि फुटेजमा देखिएको युवकको चप्पल, ट्राउजर र ज्याकेटको हुलियामा केन्द्रित भएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई पक्राउ गर्यो ।

मल्ल घटना भएको अघिल्लो दिन अर्थात् मंसीर ६ गतेमात्र प्रहरी हिरासतबाट छुटेका थिए । उनी चोरी आरोपमा पक्राउ परेर हिरासतमा पुगेका थिए । मल्लले आफैँले महिलालाई घिसारेर लगेको स्विकार गरेका छन् । उनले भनेका छन्, ‘म लागु औषध सेवनकर्ता हो । मैले बोकेर फालेको हुँ । के कसो भयो यहाँ भन्दा बढी मलाई थाहा छैन ।’

मृतक महिला उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती रहेको खुलेको छ । विवाहित भए पनि उनी आफूखुसी बस्नेगरेको प्रहरीको अनुसन्धानले देखाएको छ । महिलाको शव भेटिँदा ट्राउजर खुलेको भएपनि शरीरमा कुनै घाउचोट देखिएको छैन । महिलाको मृत्यु कसरी भयो भन्ने विषय शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका मल्लले लाश फालेको मात्र हो या हत्या गरेको हो भन्ने हालसम्म खुलिुसकेको छैन । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप भएको छ । उक्त घटनाबारे अहिले प्रहरी वृत्त कालिमाटीले अनुसन्धान अघि बढाएको छ ।