करार पाइलटको भन्दा तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका पाइलट आन्दोलित, सल्लाह गरेर एकै दिन लिए बिदा


काठमाडौं– गत असोजको दोस्रो साता नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का क्याबिनक्रुले आन्दोलन अवकाश उमेरको हद म्यादको विषयमा आरोप लगाउँदै आन्दोलन गरे । अवकाश हुने उमेर हद ४५ वर्षबाट बढाएर ५० वर्ष पुर्‍याउनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । त्यस आन्दोलनका कारण दर्जनौं उडानका हजारौं यात्रु अलपत्र परे ।

निगमले उनीहरुको माग सम्बोधन गरेपछि उडान नियमित गराउन नेपाल एयरलाइन्सले सकेको थियो । यसको दुई महिना नपुग्दै शनिवारदेखि नेपाल एयरलाइन्सको झण्डै आधा दर्जन उडान प्रभावित भए ।

‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ भन्दै निगमका झण्डै एक दर्जन पाइलट एकैपटक बिदामा बसेर उडान अलपत्र भएपछि झण्डै एक हजार यात्रु अलपत्र परेका थिए ।

आइतबार साढे ९ बजे काठमाडौंबाट १ सय ६७ यात्रु लिएर दुबई उड्नुपर्ने जहाजको पाइलट नआएपछि निगमले यात्रुहरुलाई गौशालाका होटलमा कोठा खोजेर राखेको थियो । उनीहरुलाई निगमले अन्य पाइलट खोजेर सोमबार गन्तव्यमा पुर्याएको थियो । यसैगरि विभिन्न स्थानमा जानुपर्ने आधा दर्जन उडान प्रभावित भएको थियो ।

निगमसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी उडानका लागि ४३ क्याप्टेन छन् । जसमा स्थायी सेवामा र करारमा गरि दुई किसिमको सेवामा पाइलटहरु कार्यरत छन् । करार सेवामा रहेका पाइलटहरुको भन्दा आफूहरुको कम सेवासुविधा भएको भन्दै स्थायी सेवामा कार्यरत पाइलटहरुले हड्ताल गरेका हुन् ।

नेपाल एयरलान्सका स्थायी सेवामा कार्यरत पाइलटहरूले मासिक तलबभत्ता ६ लाख हाराहारी पाउँछन् । करार सेवामा कार्यरत विज्ञ पाइलट तथा क्याप्टेनलाई भने निगमले १२ लाख रुपैयाँसम्म तलबभत्ता दिने गरेको आन्दोलनरत पाइलटहरूको गुनासो छ । करार सेवामा कार्यरत कर्मचारीहरुसरह आफूहरुको सेवासुविधा हुनुपर्ने उनीहरुको माग छ ।

यता निगमले भने पाइलटहरूको सेवासुविधाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको उल्लेख गरेको छ ।

उडानमा पर्न गएको असरले निगमको आर्थिक नोक्सानी भएको जनाइएको छ । यस्तो कामले निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको भनाइ छ । निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण पाइलटलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न निर्देशन दिएको छ ।