दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर मुद्दामा आज सुनुवाई हुँदै


काठमाडौं– साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको छ । यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएकोमा फेरि ५ दिनको म्याद थपिएको छ । प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।