काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपनि कहिले ल्याउने भन्नेमा अन्यौलता देखिएको छ । मंगलबार नै लामिछानेलाई काठमाडौं ल्याउने तयारी थियो । तर, टिकट नपाएको भन्दै उनलाई पोखरा नै राखिएको छ ।
स्रोतका अनुसार काठमाडौंका एसएसपी वसन्त रजौरे बिदामा बसेको कारण पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजधानी ल्याउन विलम्व भएको हो । रजौरे आमा बिरामी भएको भन्दै छुट्टीमा बसेपछि रविको काठमाडौं यात्रा अनिश्चित बनेको स्रोतको भनाइ छ । रजौरेले आफ्नो अनुपस्थितिमा काम गर्न नवराज अधिकारीलाई जिम्मा दिएका छन् । यद्यपि सहकारी ठगी जस्तो गम्भीर विषयमा रजौरे बिना रविको बयान लिन अधिकारीले नचाहको स्रोत बताउँछ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौंको सहकारी ठगीको केस काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा रहेर छानबिन हुने हुँदा काठमाडौंले पठाउनु नभनेसम्म रवि कास्कीमा नै रहने सम्भावना रहेको स्रोतको भनाइ छ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया