काठमाडौं– अब क्षमताभन्दा बढी यात्रु वा सामान बोकेर सवारीसाधन दुर्घटनामा परे त्यसको जिम्मेवार दुर्घटना भएको स्थान नजिकैको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएका छन् ।
पछिल्लो समय स्थानीय स्तरमा घातक दुर्घटना बढेका छन् । प्रहरी चेकजाँच राम्रोसँग नहुँदा त्यसको फाइदा उठाउँदै बढी लोड बोक्ने र नियमित रुपमा सवारीसाधन जाँच नगर्ने हुँदा दुर्घटना दोहोरिने गरेको छ ।
अब भने प्रहरीको लापरबाहीका कारण सवारीसाधन दुर्घटनाग्रस्त भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी इकाई प्रमुखले लिनुपर्ने भएको छ ।
उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई परिपत्रसमेत गरिसकेको छ ।
अब स्थानीय स्तरमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाइए स्थानीय प्रहरीले कडाइसाथ कारबाही गर्नुपर्ने गृहमन्त्रालयले जनाएको छ ।
यसका साथै एउटै चालकले लामो दुरीको यात्रा तय गर्ने, सार्वजनिक सवारीसाधनमा यात्रुलाई टिकट नलिई यात्रा गराउने, तीव्र गतिमा सवारीसाधन चलाउने, नियमित रूपमा सवारीसाधनको यान्त्रिक स्थिति र स्वरूपको परीक्षण भए–नभएको लगायत प्रचलित सवारी तथा यातायात सम्बन्धी प्रचलित कानुनमा उल्लेख विषयमा समेत प्रहरीले नियमित जाँच गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया