घाउ ड्रेसिङ गर्नभन्दै बोलाएर फार्मेसी सञ्चालकलाई हनिट्रयापमा पार्ने तीनजना पक्राउ


काठमाडौं– भक्तपुरमा एक फार्मेसी सञ्चालकले अनलाइनमार्फत घरमा ‘डेसिङ्ग सेवा’ दिँदै आएका थिए । ३३ वर्षीय ती सञ्चालकलाई मंसीर ६ मा फोन आयो, ‘मेरो खुट्टाको घाउ ड्रेसिङ गर्नुछ राधेराधेमा आउनुस् ।’

स्कुटर लिएर राधेराधेमा बोलाइएको ठाउँमा पुगे । त्यहाँ काभ्रेको भुम्लु गाउँपालिकाकी २५ वर्षीया वर्षा दर्जी थिइन् । युवकले वर्षालाई कसको ड्रेसिङ गर्ने भनेर सोधे । जवाफमा वर्षाले भनिन्– ‘मेरो हैन एक जना बुढी आमाको हो, यता बस्दै गरौँ ।’

युवक कोठामा छिरेको केही बेरामा बाहिरबाट इलाम घर भएर नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर आइन् । उनले युवकलाई आफ्नो नन्द (वर्षा)लाई बलात्कार गर्न खोलेको आरोप लगाउन थालिन् । आफू समस्यामा परेको थाहा पाएपछि युवक त्यहाँबाट स्कुटर लिएर हिँड्छन् । त्यसपछि वर्षा आफ्नो दाजु ३० वर्षीय दीपेन्द्र दर्जी र समृद्धिलाई लिएर फार्मेसीमा पुग्छिन् । पैसा नदिए बलात्कार मुद्दामा फसाउँछौँ भनेर उनीहरु युवकसँग १८ लाख माग्छन् ।

रकम बार्गेनिङका क्रममा आठ लाख रुपैयाँ लिनेदिने सहमति हुन्छ । युवकसँग उनीहरुले ५० हजार नगद र ७५ हजारको चेक लिएको भेटिएको प्रहरीले जनाएको छ ।

हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरु तीन जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट पक्राउ गरिएको हो । उनीहरुबीत भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा लेनदेन गरेको भेटिएको छ । आरोपीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।

उनीहरुको गिरोहमा संलग्न एक जना फरार रहेको प्रहरीको भनाइ छ। हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।