काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्ध सुधार, नयाँ राजनीतिक नेतृत्वको कूटनीतिक परीक्षा र आर्थिक सहकार्य विस्तारको अवसरका रूपमा विश्लेषण गरेका छन्।
बीबीसी र रोयटर्सले भ्रमणलाई नेपालमा जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तन, भारतसँगको ऐतिहासिक अविश्वास, चीनको प्रभाव र दुई देशबीचको आर्थिक सहकार्यसँग जोडेर समाचार तथा विश्लेषण गरेका छन्।
बीबीसीले बालेनको भ्रमणलाई नयाँ राजनीतिक नेतृत्वका लागि पुरानो छिमेकी भारतसँग सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ। सीमा विवाद, लिपुलेक, हवाई प्रवेश मार्ग र चीनसँगको नेपालको सम्बन्धलाई पनि प्राथमिकतामा राखेको छ।
त्यस्तै, रोयटर्सले बाढीपछिको पुनर्निर्माण, व्यापार, ऊर्जा र पूर्वाधार विकासमा भारतसँग सहकार्य बढाउने नेपालको अपेक्षालाई मुख्य विषय बनाएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स र इन्डिया टुडेलगायतले भने भ्रमणको समयतालिका, आर्थिक सहायता, हवाई मार्ग, ऊर्जा परियोजना र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई विशेष महत्त्व दिएका छन्।
समग्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बालेनको भारत भ्रमणलाई नयाँ राजनीतिक नेतृत्वले छिमेकीसँगको सम्बन्धलाई कसरी अघि बढाउँछ भन्ने चासोका साथ हेरेका छन्। भ्रमणबाट आर्थिक सहकार्य, द्विपक्षीय विश्वास र पुराना विवाद समाधानमा कस्तो उपलब्धि हासिल हुन्छ भन्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

















प्रतिक्रिया