मुस्फिकर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरे


बंगलादेशी विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन्।

३७ वर्षे रहिमले २०२२ मा टी२० फर्म्याटबाट पनि सन्यास लिइसकेका थिए। बंगलादेशको च्याम्पियन्स ट्रफीमा निराशाजनक प्रदर्शनपछि उनले एकदिवसीय क्रिकेटबाट पनि सन्यास लिने निर्णय गरेका छन्।

रहिम एकदिवसीय क्रिकेटमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने दोस्रो ब्याटर हुन्। उनले २५६ इनिङ्समा ९ शतक र ४९ अर्धशतकसहित ७,७९५ रन बनाएका छन्।

एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गर्दै रहिमले फेसबुकमा लेखे, मैले मेरो देशको लागि खेल्दा शतप्रतिशतभन्दा धेरै दिएर मैदानमा उत्रिए। यो निर्णय मेरो लागि निकै गाह्रो भयो, तर यो नै मेरो गन्तव्य हो।

उनले थपे, अन्ततः म मेरो परिवार, साथीहरू र समर्थकहरूलाई १९ वर्ष लामो समर्थनका लागि धन्यवाद भन्न चाहन्छु।

रहिमले टेस्ट क्रिकेटमा ९४ खेलमा ६,७०० रन बनाएका छन् र उनी बंगलादेशबाट १०० टेस्ट खेल्ने पहिलो खेलाडी बन्ने लयमा छन्।