चन्द्र ढकाललाई अर्को धक्का, पाथीभरा केवलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश


काठमाडौं । ग्लोबल आईएमइ गु्रपका अध्यक्ष चन्द्र ढकाललाई अर्को आपत आइलागेको छ । ताप्लेजुङको मुकुम्लुङ÷पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएपछि उनलाई अर्को आपत आइलागेको हो ।

अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले आइतबार हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो । केबलकार निर्माण कार्य रोक्न अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाही यथास्थितिमा राख्न आदेश भएको छ ।

अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ । मुकुम्लुङ÷पाथीभरामा उद्योगी ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ । स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । शक्तिको आडमा ढकालले प्रसिद्ध तीर्थस्थल पाथीभरामा केवलकार निर्माण गरिरहेका छन् । केवलकार निर्माण रोक्न भन्दै त्यहाँ निरन्तर आन्दोलन भइरहेको छ । तर अहिलेसम्म काम रोकिएको छैन ।