काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । अब अर्को दिनका लागि अर्को इजलासमा पेसी तोकिने छ ।
आइतबार दुवैजनाको रिट एकैसाथ हेर्ने गरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो ।
घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो । घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् । शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् । अन्तरिम आदेश सम्बन्धमा छलफल गर्नलाई दुवै पक्षलाई झिकाएकोमा हेर्न नमिल्ने भएको हो ।
अब कुलमान र हितेन्द्रदेवको मुद्दा लम्बिने स्थिति देखिएको छ । कुलमानलाई हटाएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादीलगायतले संसद् र सडक दुवैतिर विरोध गर्दै आएका छन् । चार महिना कार्यकाल बाँकी रहेका कुलमान अन्तरिम आदेश लिएर फर्किने धेरैको विश्वास थियो । तर सर्वोच्च अदालतले सुरुमै कारण देखाऊ आदेशमात्र जारी गरेपछि कुलमान प्राधिकरणमा फर्किने सम्भावना क्षीण बन्दै गएको छ ।
प्रतिक्रिया