काठमाडौं । नेपाल प्रहरीले चैत १५ (शुक्रबार) तीनकुने, कोटेश्वर, सिनामंगल, जुडिबुटी क्षेत्रमा ताण्डव मच्चाउने राजावादी प्रदर्शनकारीको सूचना उपलब्ध गराइदिन अपिल गरेको छ ।
शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रहरीले अहिलेसम्म सो घटनामा संलग्न रहेको आरोपमा एक सय ११ जना पक्राउ गरिसकेको छ । साथै, आफूले खिचेको फोटो र भिडियोबाट समेत प्रहरीले अनुसन्धान जारी राखेको छ । सोही आधारमा शनिबार साँझ भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा सातजना पक्राउ गरेको थियो ।

त्यस दिनको घटनाका विषयमा धेरै मानिसले तस्बिर र भिडियो खिचेको, लाइभ प्रसारण पनि गरेका थिए । सोही कारण नेपाल प्रहरीले हिंसात्मक आन्दोलनमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको हो ।
प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने जानकारीसमेत गराएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबारको राजावादीको हिंसात्मक आन्दोलनमा झन्डै एक अर्ब बराबरको भौतिक क्षति भएको छ । साथै, दुईजनाले मृत्युवरण गर्न पुगेका छन् । कीर्तिपुर गाम्चाका सुविन महर्जन र एभेन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकले अनाहकमा ज्यान गुमाएका हुन् ।
सो हिंसात्मक आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाई भनेर फरार भएका छन् । प्रहरीले राप्रपाका वरिष्ठ उपसभापति रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा, राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललगायतलाई पक्राउ परेको छ । त्यस दिनको आन्दोलनमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले आगजनी, लुटपाट, संगठित अपराध र मानव हत्याको मुद्दा लगाउने तयारी गरेको छ ।
प्रतिक्रिया