काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले १२ दिन म्याद दिएको नेपाल प्रहरीले जनाएको छ ।
चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईंको अगुवाइमा काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा उपस्थित समर्थक एवं भिडलाई उत्तेजित बनाई संघीय संसद् भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतलाई समेत ढुंगा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, सञ्चार गृहहरु रहेको भवन, विभिन्न दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारिक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशीलरअति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डसमेतमा तोडफोड, आगजनी गरी गराई आपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानमा क्षति पुऱ्याई, लुटपाट तथा आपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतकंति पारिएको उल्लेख गरिएको छ ।

पूर्वयोजनाअनुसार संगठित तवरले आपराधिक घटना घटाई मानिसको ज्यान लिनेसमेतका आपराधिक कार्य गरी घटनापश्चात फरार रहेका प्रसाई र दिपक खड्कालाई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिई काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया