१० वर्षीया अनुराधा पाण्डेय पोखरामा सुनाउँदै कथा वाचन



काठमाडौं । गत वर्ष पशुपति कोटिहोममा कथा वाचन गरेर धेरैको मन जितेकी १० वर्षीया अनुराधा पाण्डेयले शुक्रबारदेखि पोखरा महानगरपालिका–१७ बिरौटामा सुरु हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गर्दैछिन् ।


आगामी वैशाख १६ देखि जेठ १६ सम्म सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसारस्वरुप शुक्रबारबाटै कथा प्रवचन हुने भएको हो । कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिका पाण्डेय नेपाल आइपुगेकी छन् । भारतको वृन्दावनमा बस्दै आएकी पाण्डेयले पोखरामा गर्न लागेको दोस्रो कथा वाचन हो ।

आठ वर्षकै उमेरदेखि कथा वाचन गर्न थालेकी उनी नेपाली भाषामा मिठासपूर्ण ढंगले कथा वाचन गर्छिन् । उनको कथा वाचन शैली ठ्याक्कै देवी प्रतिभाको जस्तो छ । कथा वाचन गरिसकेपछि उनी बीचमा राधे राधे भन्ने गर्छिन् । वैशाख ५ गते पाण्डे भारत फर्कनेछिन् ।


कोटिहोमको तयारी अन्तिम चरणमा पुगेसँगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशीर्वचन हुने कार्यक्रम छ ।


कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमद्देवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सयभन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अर्बौं रामनाम लेखिने र एक करोड शिवलिंग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।