प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको कारण जेष्ठ नागरिकहरुले बृद्धभत्ता पाएको दावि l


प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको कारण जेष्ठ नागरिकहरुले बृद्धभत्ता पाएको बताएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज बुटवलमा आयोजित एक सभालाई सम्बोधन गर्दै शरीरमा बल छउन्जेल सत्तोसराप गर्नेलाई पनि बुढाबुढी भएपछि एमाले चाहिने बताए । उनले २०५१ सालामा एमाले पहिलो पटक सरकारमा पुग्नेबित्तिकै जेष्ठ नागरिकहरुको पक्षमा काम गरेको बताए । एमाले बृद्धभत्ता, बालबालिका स्याहारसुसार, शिक्षालगायतका कार्यक्रम लिएर हरेक नागरिकको घरघरमा पुग्ने प्रधानमन्त्री ओलीले बताए ।

‘नेकपा (एमाले) ले सरकारमा हुँदा के गर्छ । वृद्धाभत्ता सम्झनुस् त एक पटक । पहिलो पल्ट २०५१ सालमा सरकारमा के खुट्टा टेक्न पाएको थियो, देशभरीका बा आमाहरुलाई सम्झियो र जेष्ठ नागरिक भत्ताको सुरुवात गर्यो । एमाले सरकारमा पुग्नेबित्तिकै बाआमालाई पनि सम्झिँदो रहेछ नि । यसअघि सयौं वर्षदेखि सरकार थिएन र ? एमालेलाई सतोसराप गरेर शरीरमा बल छउन्जेल गाली गर्छन् केहीकेहीले । जेष्ठ नागरिक भएपछि फेरि चाहिन्छ एमाले,’– उनले भने ।

प्रधानमन्त्री ओलीले छोराछोरी अमेरिका, जापानm कोरिया जहाँ गएपनि एमाले सधै नागरिकहरुको साथमा रहने बताए ।