मधेशमा दुर्गा, गणेश र हनुमान यात्रामा सधैं किन हुन्छ झडप ?


काठमाडौं । शोभायात्रामा दुई समूहबिच तनाव र झडपपछि वीरगन्जमा कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका– २ श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा झडपको अवस्था आएको थियो । हनुमान जयन्तीको शोभायात्रा नगर परिक्रमा गराउने क्रममा छपकैया चोकमा तनाव भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छपकैया चोकमा रहेको जाइज बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ । धार्मिक शोभायात्रामा घरको छतबाट कसैले ढुंगा फाल्दा तनाव भएको देखिएको उनले बताए । तनावपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै वीरगन्ज महानगरआसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीरगन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ । प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । आइतबार बिहान वीरगन्जको अवस्था सुनसान थियो ।

कुनै पनि अप्रिय घटना भएनन् । वीरगन्ज मात्र होइन, मधेश प्रदेशको कलैया, रौतहट, मलंगवा, धनुषा, जलेश्वर, सिराहा, राजविराज तथा लुम्बिनीको कपिलवस्तु, नेपालगन्ज जस्ता सहरमा पनि हिन्दु धर्मावलम्बीले निकाल्ने शोभायात्रामा झडप हुँदै आएको छ । खासगरी दुर्गा पूजा, गणेश जयन्ती, हनुमान जयन्ती, सरस्वती पूजामा मूर्ति विसर्जन गर्नेक्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप हुने गरेको छ । झडप हुँदा मानवीय क्षति नभएको घटना विरलै होलान् ।

नेपालमा धार्मिक सहिष्णुता कायम रहँदै आए पनि बेलाबेला हुने यस्ता हिंसात्मक घटनालाई लिएर विभिन्न अनुमान गर्न थालिएको छ । नेपाली समाजमा रहेको शान्तिपूर्ण अवस्थालाई खल्बल्याउन बाह्य शक्तिको घुसपैठ भएको सुरक्षा अंगका आशंका छ । बाँकेको नेपालगन्ज, रौतहटको गौर, सर्लाहीको मलंगवामा विगतमा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।