न्यायाधीश ढुंगानाको इजलासमा रविको रिटको सुनुवाइ


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई छुटाउनका लागि उच्च अदालत तुलसीपुर बुटवलको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निकिता पौडेलले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । न्यायाधीश ढुंगानाको २ नम्बर इजलासमा पेसी चढेको रिट सूचीको ‘क’ मा परेको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत, तुल्सीपुर, बुटवलका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुनामा पठाउने आदेश गरेको थियो । एक करोड रुपैयाँ धरौटीमा छोड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै चैत २२ गते उच्चले थुनामा पठाउने आदेश गरेको थियो ।

जसकारण अहिले रवि भैरहवास्थित जिल्ला कारागारमा छन् । त्यसविरुद्ध निकिताले गत शुक्रबार स्वयं उपस्थित भएर सर्वोच्चमा रिट दायर गरेकी हुन् । रिटमा उच्च अदालतको आदेश खारेजीको माग गरिएको छ ।