काठमाडौं – खेलाडी र कलाकारलाई राष्ट्रको गहना मानिन्छ । कलाकारभन्दा पनि खेलाडी संसारभरि नै चर्चित हुन्छ । कुनै सानो देशको खेलाडी पनि विश्वका ठूलठूला देशमा लोकप्रिय हुन्छ ।
फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, गल्फ, टेबल टेनिस खेलाडी संसारभरि नै चिनिन्छन् । विदेशमा खेलाडीलाई धेरै सम्मान र महत्व दिइन्छ । भारतमै पनि खेलाडीको क्रेज राजनीतिज्ञ र कलाकारभन्दा माथि छ । तर नेपालमा भने त्यस्तो भएको पाइन्न ।
यदि अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर फर्किएको छ भने नेपाली खेलाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआईपी कक्ष प्रयोग गर्न पाउँछन् । त्यो पनि खेलकुद मन्त्री स्वागत गर्न जाँदैछन् भने मात्र । नत्र भने सर्वसाधारणसँगै खेलाडी पनि सामान्य कक्षबाट जाने आउने गर्न बाध्य छन् ।
अप्रिल ७ तारिखका दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तै दृश्य देखियो । नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडी चार दिवसीय टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हङकङ जाँदै थिए । उनीहरू घन्टौं सर्वसाधारणसँगै लाइनमा बसेर प्रस्थान कक्ष प्रवेश गरेको देखिन्थे ।
रोहित पौडेल, सोमपाल कामी,करन केसी,दीपेन्द्र सिंह ऐरी,आसिफ शेख, कुशल मल्ल, अनिल शाह जस्ता खेलाडी आफूहरुसँगै लाइनमा बसेर विदेश जान लागेको देख्दा सर्वसाधारण नेपाली खुसी नै देखिन्थे । तर राष्ट्रका गहना मानिएका खेलाडीलाई भिभिआईपी कक्ष प्रयोग गर्न नदिइएकोमा भने धेरैले दुःख व्यक्त गरेका थिए ।
कुनै पनि दलका ठूलादेखि सानातिना नेताले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै भिभिआईपी कक्ष प्रयोग गर्ने गरेको देखिन्छ । तर राष्ट्रिय टोलीका खेलाडीलाई सर्वसाधारणसँगै घन्टौं लाइनमा राखेर प्रस्थान कक्षमा पठाइनुले राज्य कतिसम्म अविवेकी र पक्षपाती छ भन्ने पुष्टि गर्छ ।
प्रतिक्रिया