रास्वपाका पुर्वसांसद डा. ढाका कुमार श्रेष्ठ सामाजिक कामलाई तीव्रता दिदै


काठमाडौं – रास्वपाका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठको पहलमा पोखरामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर शनिवार पोखरा महानगरपालिका–९ मा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरको अध्यक्षता पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, मुख्य अतिथि ढाकाकुमार श्रेष्ठ, विशेष अतिथि प्राध्यापक मिनु श्रेष्ठ, सामाजिक अभियन्ता विष्णु तिवारी, पोखरा हङकङ बजार व्यवस्थापन समितिका सदस्य र सम्पूर्ण पदाधिकारी सहभागी थिए ।

डा. श्रेष्ठले शिविरबाट मधुमेह, उच्च रक्तचाप, थाइराइड, मुटुका रोगी गरी साढे तीन सय लाभान्वित भएको बताए । उनले थाइराइडको परीक्षण र मुटुका रोगीका लागि इसिजी गरिएको बताए । यस्तै, शिविरमा आउनेलाई औषधिसमेत वितरण गरेको उनको भनाइ छ । शिविरमा वितरण गरिएको औषधि युएसबी मेडिसिन कम्पनीले सहयोग गरेको उनले बताए ।


श्रेष्ठका अनुसार डाक्टर, नर्स, ल्याब टेक्निसियन गरी शिविरमा ११ जनाको मेडिकल टिम थियो । शिविर श्रेष्ठकै दिया पोलिक्लिनिक र पोखरा हङकङ बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको थियो । शिविरबाट पोखरा महानगरपालिका–९ आसपासमा स्थानीय लाभान्वित भएको श्रेष्ठले बताए ।