काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोनल परिचालन समिति’ का प्रवक्ता स्वागत नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको उपचार हुन नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । हाल न्यायिक हिरासतमा रहेका राणाको स्वास्थ्य अवस्था कमजोर हुँदै जाँदा पनि उनलाई उपचार गर्ने मौलिक अधिकार खोसिएको उनको आरोप छ ।
ु‘सयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा लामो समयदेखि तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दामा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा हुनुहुन्छ,’ नेपालले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ ।
राणा यसअघि नै नियमित रूपमा आवधिक परीक्षणका लागि चिकित्सकले दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने नेपालले भनेका छन् । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।
पहिलो चरणको क्यान्सरको स्टेज भएकाले राणा भारतमा उपचार गरेर फर्केका थिए । भारतबाट फर्किएलगत्तै उनी राजसंस्था पुनःस्थापित आन्दोलनमा सक्रिय भएर लागेका छन् । चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक बनाउन राणा र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले उक्साएको भन्दै उनीहरूलाई संगठित अपराध, राज्यविरुद्धको कसुर र उपद्रवमा अनुसन्धान प्रहरीले अनुसन्धान गरिरहेको छ । राणाले अहिलेसम्म उपचारका लागि अस्पताल जानुपर्ने भनेर माग गरेका भने छैनन् ।
प्रतिक्रिया