काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।
शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने हो । उनीहरूले ऐन नआएसम्म आन्दोलन नगर्ने अडान दोहोर्याएका छन् ।
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने भए पनि शिक्षकहरूले आफ्नो संलग्नता नहुने चेतावनी दिएका छन् । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आइतबार आन्दोलनको समय परिवर्तन गरी बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएका छन् । राप्रपाको प्रदर्शनका कारण शिक्षकहरूले आन्दोलनको समय परिवर्तन गरेका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ । कार्यालय समयमा कर्मचारीहरु अफिस पुग्न सकेका छैनन् । जताततै यातायात अवरुद्ध बनेको छ । राप्रपाले निषेधाज्ञा तोड्ने भनेपछि मुख्य सडकमा सवारीसाधन कम गुडेका छन् । जसकारण खोला करिडोरमा सवारीसाधनको लाम लागेको छ ।
प्रतिक्रिया