बालेनले खुलाए ‘काठमाडौं टावर’ मा नक्सा पास हुँदा भएको घोटालाको फेहरिस्त


काठमाडौं । लामो समयको ग्यापपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषयमा बोलेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सात तलको नक्सा पास गरिदिँदा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले गरेका घोटालाको फेहरिस्त सार्वजनिक गरेका छन् । जसमा उनले आठ बुँदामा सबै अनियमिततालाई समेटेका छन् ।

बालेनले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन्। उनले यो प्रकरणले महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौँको फाइदा हुने तथ्य सार्वजनिक गरेका हुन्।

उनका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको थियो। सम्झौताअनुसार चौथो वर्षसम्म वार्षिक ९८.३३ लाख र ३०औँ वर्षमा ३.९० करोड रुपैयाँ मात्र महानगरले प्राप्त गर्ने उल्लेख छ। तर, १२ तलालाई १९ तला बनाउँदा थप सात तलाको क्षेत्रफल १.२८ लाख वर्गफुट हुन्छ। जसबाट वार्षिक २३ करोडभन्दा बढी भाडा आउनुपर्ने उनको दाबी छ।

‘३० वर्षमा प्रतिवर्गफुट भाडा ६७० रुपैयाँ पुग्छ, जसबाट थप सात तलाले मात्रै एक अर्बभन्दा बढी आम्दानी गर्नुपर्ने हो,’ उनले भने, ‘तर सम्झौताअनुसार महानगरले ३ करोड मात्र पाउँछ, जसले ठेकेदारलाई अर्बौँ फाइदा हुन्छ।’ उनले भवन निर्माणमा धेरै अनियमितता र अवैधानिक काम भएको पनि दाबी गरेका छन् ।

बालेनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ मा १२ तलाभन्दा माथि नजाने गरी अनुमति दिएको थियो। तर, १९ तला बनाउँदा प्राधिकरणको राय र वातावरणीय प्रभाव मूल्यांकन नलिई नक्सापास गरिएको छ। ‘

उनले नक्सा पास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गम्भीर त्रुटि गरेको आरोप लगाए। ‘आधिकारिक इबीपीएस प्रणालीबिना, विभागीय प्रमुखलाई जानकारी नदिई गुरागाईँले हाजिर भएको दोस्रो दिनमै नक्सापास गरे,’ बालेनले भने, ‘यो

नीतिगत भ्रष्टाचारको अंश हो।’ उनले गुरागाईँलाई सरकारले विशेष ‘म्यान्डेट’ दिएर पठाएको हुन सक्ने आशंका पनि व्यक्त गरे।
बालेनले महानगरको आधिकारिक प्रणालीमा अहिलेसम्म नक्सापास जिकिर गरेका छन् । ‘यो कागजलाई मान्यता दिँदैनौँ,’ उनले भने, ‘हिल्टनको नक्सा पास पनि गुरागाईँले त्यही दिन गरेको रहेछ, यसको पनि छानबिन हुँदैछ।’