काठमाडौं । २६ दिनसम्म शान्त बनेका शिक्षक आइतबारदेखि आक्रोशित भएका छन् । शिक्षा ऐन जारी हुनुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरू आइतबार नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्नुको साथै पानीको फोहोरा हानेको छ । त्यसक्रममा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन् । झडपमा एक शिक्षिकाको आँखा फुटेको आन्दोलनकारीहरूको भनाइ छ । ‘मेरो आँखा’ भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले नै पिठ्युमा बोकेर अस्पतालतर्फ दौडाइरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । घाइते शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।
नेपाल शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई बिथोल्न सरकारको घुसपैठ उदांगो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए ।
‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नांगोपना उदांगो भयो । हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ उनले भने । आजको आन्दोलनमा चक ड्रस्टर बोक्ने शिक्षकका हातमा ढुंगा र इँटा थिए ।
प्रतिक्रिया