काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि बस्न सकेको छैन । गत पुस ८ गते पछिल्लोपटक कार्यपालिका बैठक बसेको थियो । त्यसयता नियमित रुपमा बस्नुपर्ने बैठक अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ ।
महानगरकी उपप्रमुख सुनिता डंगोलका अनुसार कार्यपालिका बैठक नबस्दा महत्वपूर्ण एजेन्डा थुप्रिँदै गएका छन् । मेयर बालेन्द्र साह बालेन, उपमेयर डंगोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच बढ्दो मतभेदका कारण बैठक रोकिएको छ ।
‘चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, कसको कारण हो भन्नुपरेन,’ उपमेयर डंगोल भन्छिन्, ‘जुन दिन मेयरले मिटिङ बसौँ भन्नु हुन्छ, हामी तयार छौं ।’ बेल्जियमको झन्डै दुई साता लामो भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएकी सुनिताले अहिलेसम्म मेयर बालेनसँग भेट हुन नसकेको बताएकी छन् । कार्यपालिका बैठक बस्न नसक्दा एजेन्डाको चाङ लागेको उनको भनाइ छ । ‘जनतासँग म निरन्तर सम्पर्कमा छु, गुनासा सुन्दैछु’, उनी भन्छिन्, ‘तर मलाई धेरै विषयमा जानकारी नै छैन । मेयरसँग भेट भएपछि धेरै कुराको समाधान होला ।’
तर काठमाडौंका मेयर बालेन भने जन्मदिन मनाउन स–परिवार पोखरामा छन् । बुवाआमा, दाजु–भाउजू, दिदी–भिनाजुसँगै पत्नी र छोरीसहित ११ गते उनी पोखरा पुगेका हुन् । पोखरामा उनले कसैसँग औपचारिक भेटघाट नगरी परिवारसँग घुमफिर गरेका छन् । पोखरा पुगेर चाउथेको देउराली फार्म हाउसमा बसेका उनले नजिकका साथीभाइसँग बेगनासताल र फेवातालमा डुंगा सयर गरेका छन् । ती फोटोहरू अहिले सामाजिक सञ्जालमा पनि देखिएका छन् ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई निलम्बन गरेपछि बालेन एक्लो हुँदै गएका छन् । सुरुमा उनलाई कांग्रेसका वडाध्यक्षहरू र कार्यपालिका सदस्यले साथ दिएका थिए । तर अहिले उनलाई कसैको साथ सपोर्ट छैन । काठमाडौं महानगरका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय भित्र्याउने बेला पनि बालेन दोलखाको कालिञ्चोकमा थिए । बिदा मनाएर फर्किएका बालेन केही दिन कार्यालय गए पनि कसैसँग भेटघाट नै नगरी पोखरा लागेका थिए । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग भेटघाट नहोस् भनी उनले निजी लिफ्ट हाल्न लगाएका छन् । त्यही भएर कसैले पनि उनी कार्यालय आए गएको भेउ नै पाउँदैनन् ।
प्रतिक्रिया