काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच हार्दिक सम्बन्ध छैन । तर लामो समयपछि दुवै नेताले एउटै मञ्च सेयर गर्न लागेका छन् ।
सोमबार काठमाडौंको शान्तिवाटिकामा राप्रपा नेपालले विरोध सभा आयोजना गरेको छ । कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनलाई पनि बोलाइएको छ । थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवास अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाएका थिए । राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइएको भनेर उनी राप्रपाबाट अलग भएका थिए ।
तर अहिले तिनै पूर्वराजाका कारण थापा र लिङ्देन नजिकिएका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आफूसहित चारजनाको फोटो पोष्ट गर्दै पहिलोपटक एक ठाउँमा भेला हुन लागेको लेखेका छन् । यसअघि फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा स्वागत गर्ने कार्यक्रममा थापा पनि सहभागी भएका थिए । जसका कारण हिजो फुटेका थिए, आज तिनै व्यक्तिका कारण थापा र लिङ्देनको पुनर्मिलनलाई चासोपूर्वक हेरिएको छ ।
प्रतिक्रिया