काठमाडौं – सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौबुँदे सहमतिलाई लिएर महासंघ नै विभाजित बनेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्य नहुने भन्दै आन्दोलनलाई निरन्तरता दिने र आजै नयाँ कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
शिक्षक महासंघले कर्मचारीका मागलाई बेवास्ता गरी एकतर्फी सम्झौता गरेको आरोप लगाउँदै तिवारीले विद्यालय कर्मचारीका हकहितविपरीत भएको सहमति खारेज गर्न माग गरे। मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलमा बिहीबार आयोजित भेलामा सम्झौताबारे छलफल गर्ने क्रममा कर्मचारी र शिक्षक नेतृत्वबीच तनाव उत्पन्न भएको थियो।
परिषद्का अध्यक्ष तिवारीले शिक्षक महासंघका पदाधिकारीले कर्मचारीका मागलाई सम्बोधन नगरेको र राजनीतिक दलका नेताको प्रभावमा परेर सम्झौता गरेको आरोप लगाए। ‘आठ हजार तलब खाने कर्मचारीको पीडा महासंघलाई कहाँ थाहा छ ? सञ्चित बिरामी बिदाको सुविधा पनि दिइएन। यो सम्झौता हामीलाई मान्य छैन,’ उनले भने । तिवारीले सरकारले शिक्षा ऐन जारी गर्ने आश्वासन दिएर कर्मचारीलाई अल्मल्याउन खोजेको दाबी गरे। ‘हामीले ऐन ल्याएर मात्र आन्दोलन रोक्ने भनेका थियौं। तर, असार १५ सम्मको समय दिएर आन्दोलन फिर्ता गरियो। ऐन आउने कुनै आधार छैन।
हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने । परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै महासंघ र सरकारबीच भएको सम्झौता र आन्दोलन फिर्ताको निर्णयप्रति पूर्ण असहमति समेत जनाएको छ। आन्दोलनको भावी कार्यक्रम तय गर्न कर्मचारी परिषदको भेला बिहीबार बस्दैछ । सो भेलापछि पुनः सडकमै फर्किने तयारी कर्मचारीहरूले गरेका छन् ।
प्रतिक्रिया