सरकार र शिक्षकबीचको सहमति धोका भन्दै वैशाख २१ गते आन्दोलन गर्ने कर्मचारी परिषदको घोषणा


काठमाडौं – सरकार र नेपाल शिक्षकबीचको सहमतिलाई धोका भन्दै नेपाल बिद्यालय कर्मचारी परिषदले आन्दोलनको घोषणा गरेको छ । वैशाख १७ गते रहस्यमयपूर्ण ढंगलबाट सरकार र महासंघबीचको वार्तामा महासंघमा आबद्ध र संबद्ध संस्थाका अध्यक्षहरुलाई मूकदर्शक बनाएर गरिएको धोकापूर्ण सहमति गरेको आरोप परिषद्ले लगाएको छ ।

संस्थागत धारणाको मर्मानुरुप विपरीत हुनेगरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्दै एकलौटी महासंघको नेतृत्वले निजामतीसरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्खे, निमावि प्रथम श्रेणीको शिक्षकको तलब ग्रेड मावि द्वितीय श्रेणीको शिक्षकसरह हुनेलगायतका सहजातीय सेवासुविधाजन्य गतिविधिमा तीब्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडेको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ आमविद्यालय कर्मचारीहरुमा पर्न गएको नैतिक दवावलाई मध्यनजर गर्दै तपिलका मागहरु राखी एक आन्दोलन परिचालन समिति गठन गरी प्रथम चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको ब्यहोरा सबैमा सुसूचित गरिन्छ। यस प्रथम चरणको आन्दोलनमा सबै सबैमा साथ, सहयोग र समर्थनकालागि सबैमा हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

परिषदले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरु कार्यान्वयन गर्न, बिद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउन, तलब मान कायम गराउन,० बिद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउन, तोकिएकै समयमा शिक्षा ऐन जारी गराउन र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन आन्दोलन गर्नुपरेको जनाएको छ । आन्दोलनका लागि बब्बन मिश्रालाई संयोजक तोकिएको छ ।

परिषदले वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेन ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, ६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझउने, ७ गते सातओटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्राालयमा बुझाउने, जेठ ९ र १० गते काठमाडौंस्थित माइतीघर मण्डलादेखि सडक आन्दोलनमा सबै उपस्थित हुने र तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिने जनाइएको छ ।