काठमाडौं । ‘भ्वाइस अफ सिजन ६’ धादिङका प्रोशेष पाण्डेले जितेका छन् । आफ्ना चार प्रतिस्पर्धीलाई पछाडि पार्दै पाण्डेले उपाधि जितेका हुन् । उनी कक्षा १२ मा अध्ययनरत छन् ।
गिङ रियालिटी सोको पहिलो पटक कोच बनेका खेम सेन्चुरीको प्यानलबाट पाण्डेले उपाधि जितेका हुन् । ‘भ्वाइस अफ सिजन’ मा कोच रहँदै आएका गायक प्रमोद खरेलको ठाउँमा खेम सेन्चुरीलाई ल्याइएको थियो । यसअघि प्रमोदको टिमबाट धेरैले उपाधि जितिसकेका छन् ।
पहिलो प्रयासमै आफ्नो टिमबाट ‘भ्वाइस अफ सिजन ६’ को उपाधि जित हात पारेपछि गायक तथा संगीतकार खेम सेन्चुरीको भुइँमा खुट्टा छैन । उनले सामाजिक सञ्जालमा पाण्डेले उपाधि जितेकामा लामो स्टाटस लेखेका छन् । जसमा उनले निकै भावुक हुँदै मनका कुरा पोखेका छन् ।
खेम सेन्चुरी भन्छन्, ‘आमाको चोर औंलो समाएर हिँड्दा त्यति लडिएन जति आफ्नै पैताला लागेपछि लडियो। किनकि मैले रोजेको क्षेत्रमा डोर्याउन आमाले झैं चोरी औंलो तेर्स्याउने कोही थिएनन् । ‘द भ्वाईस’ मा आवद्ध हुने गरी मैले हस्ताक्षर गर्दै गर्दा सोचेको थिएँ, यी औंलाहरूलाई विश्वास गरेर समाउनेलाई म गन्तव्यमा पुर्याउने नै छु। म झैँ बारम्बार लड्दै, पछारिँदै, घाउरचोट सहँदै उठ्दै हिँड्नुपर्ने छैन। हो, त्यो अठोटको आज विजय भएको छ। हाम्रो टिम खेमबाट प्रोसेस पाण्डेले उपाधि उचालेका छन्। यो उपाधि मात्रै होइन, भरोसाको जीत हो। स्वर्णिम इतिहासको निर्माण हो। फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा चढ्म सक्छन् भन्ने प्रमाण हो। नेपाली माटोको सुगन्ध दिने लोकसंगीत नै नेपाली गीतसंगीतको जननी हो भन्ने फेरि पनि खास ढंगले पुष्टि भएको छ।’
लोकसंगीतले जितेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । ‘मसँग पोख्ने थुप्रै भावना छन्, शब्दहरुले व्याख्या गर्न सक्दिन,’ उनले भनेका छन् ।
‘द भ्वाइस अफ सिजन ६’ मा उदय सोताङ, राजु लामा, मेलिना राई पनि कोच थिए ।
प्रतिक्रिया