काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ। अभियानका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले निर्वाचन प्रणाली सुधार र नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
अभियानले स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण र भागबन्डाले सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा असर पारेको जनाएको छ। स्थानीय तहलाई दलगत हस्तक्षेपमुक्त बनाउन राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र निर्वाचन चिह्न प्रयोग गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।
ज्ञापनपत्रमा गैरदलीय निर्वाचनका लागि आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्न आयोगसँग आग्रह गरिएको छ। साथै, स्थानीय तहसम्बन्धी नीतिगत छलफल र राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।

















प्रतिक्रिया