दुई थान भरुवा बन्दुकसहित एक जना प्रहरी नियन्त्रणमा


ओखलढुङ्गा । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित ४३ वर्षीय बुद्धबहादुर मगर पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित उनको घरबाट प्रहरीले बन्दुक बरामद गरेको हो।

अस्थायी प्रहरी पोस्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा खाटमुनि लुकाएर राखिएका दुई थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

बन्दुकसँगै त्यसमा प्रयोग हुने फलामका टुक्रा र बारुदजस्तो देखिने दुई डब्बासमेत बरामद गरिएको छ। बरामद हतियारसहित मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।