काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाअन्तर्गत आइतबार भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा प्रश्नपत्र आउट भएको विषय हल्ला मात्र भएको बताए । बोर्डले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यू र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको स्पष्ट पारेको छ।
कक्षा १२ को प्रश्नपत्र आउट भएको हल्लापछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानविन सुरु गरेको थियो । काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
‘परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्नेउपर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुहुन सम्पूर्ण परीक्षार्थीहरूलाई अनुरोध गरिन्छ । परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुर्याउने गरी यस्तो कार्य नगर्नसमेत राष्ट्रिय परीक्षा बोर्ड सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया