आलमको प्रतिवन्ध फुकुवा


काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहमद आदिल आलममाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको छ। स्पट फिक्सिङको आरोपमा नेपाल क्रिकेट संघ (क्यान) द्वारा प्रतिबन्धित आलम अब पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने भएका छन्।

वि.सं. २०७९ मंसिर ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगको दौरानमा आलममाथि स्पट फिक्सिङमा संलग्न भएको आरोप लागेको थियो। सोही आरोप अनुसार Anti-Corruption Code अन्तर्गत उनीमाथि कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

तर, क्यानको Integrity Committee द्वारा आवश्यक प्रक्रिया पुरा गरी प्रतिवेदनसहित प्रतिबन्ध फुकुवाको सिफारिस गरिएको थियो। सोही सिफारिसको आधारमा २०८२ साल वैशाख २१ गतेदेखि लागू हुने गरी आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको क्यानले जनाएको छ।

अब आलमले पुनः राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ भने, अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछन्।