गृहमन्त्री लेखकले संसदमा भने– रेशम चौधरी पक्राउ गर्ने कुनै योजना थिएन, कर्मचारीले विवेक गुमाए


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सरकारले नौ दिनपछि संसदलाई जानकारी गराएको छ ।

गृहमन्त्री रमेश लेखकले रेशम पक्राउप्रति दुःख व्यक्त गरेका छन्। रेशमको पक्राउका विषयमा बिहीबार सदनलाई जानकारी दिँदै लेखकले सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीले विवेक बाहिर गएर गरेको अनधिकृत पत्रव्यवहारका कारण घटना भएको बताए।

यसअघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझैँ यसपटक पनि सही नियतले काम गर्न खोजेको उनको भनाइ छ। वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवन परिसरबाटै रेशम पक्राउ परेका थिए ।

‘यसअघि सम्मानीत अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने ।

नागरिक उन्मुक्ति सत्तारुढ दल हो । सत्तारुढ दलप्रति प्रहरी र अदालतका कर्मचारीले देखाएको व्यवहारको नागरिक उन्मुक्तिले विरोध गरेको छ । उसले सरकारले रेशम पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने घोषणासमेत गरेको छ । रेशमलाई टीकापुर काण्डमा जन्मकैद तोकिएको भन्दै सो सजाय पूरा गर्न भनी सर्वोच्च अदालतका कर्मचारी मानसिंह विष्टले प्रहरीलाई रेशम पक्राउ गर्न पत्र काटेका थिए । विष्ट अहिले प्रहरी हिरासतमा छन् । उनीविरुद्ध सरकारी कागज कीर्तेमा मुद्दा चलाइने भएको छ ।