काठमाडौं । अखिल नेपाल फुटबल संघले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभामा प्रवेशमा रोक लगाएपछि तनाव बढेको छ । काभ्रेको धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारणसभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएको हो ।
‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन,’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’
थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिएपछि पूर्वअध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।
फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलोपटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि उनका समर्थकले नाराबाजी गरेका थिए । दुई साताअघि मात्र थापामाथिको प्रतिबन्ध फुकुवा भएको थियो ।
प्रतिक्रिया